» वानीरा फाउन्डेसन निजी क्षेत्रमा नेपाली भाषासाहित्यको हालसम्मकै उच्च धन राशिबाट निर्माण गरिएको विशेष प्राज्ञिक संस्था हो ।

Home » वानीरा फाउन्डेसनको परिचय

वानीरा फाउन्डेसनको परिचय

‘श्रीस्वस्थानी व्रतकथा’मा भगवान् शङ्करले आफ्नी पत्नीउपरको प्रेममा डुबेर पार्वतीको लासलाई एक महिनासम्म बोकेर जगत् परिक्रमा गरेका थिए । आफ्नी पत्नीको निधन भएपछि उनले आफुलाई समेत भुलेका थिए । यस्तो किसिमकोे कथा पढ्नेहरूका लागि वानीरा फाउन्डेसन नयाँ कुरा मानिँदैन । तर नेपाली परिवेशमा शङकर गिरिले आफ्नी पार्वतीका लागि जसरी मन रोपे, धन रोपे र तन पनि रोपे; यो बेहोरा चाहिँ उदाहरणीय बन्यो । वास्तवमा उनले आफ्नी सद्दे, स्वस्थ्य वा तन्दुरुस्त पत्नीका लागि आफ्नो गच्छे अर्पण गरेका थिएनन् । उनले त अल्जाइमर भएकी, डिप्रेसनले ग्रस्त भएकी र शारीरिक रूपमा झन्नै निर्जीव अवस्थामा रहेकी आफ्नी पत्नीको सम्मान, प्रेम र समर्पणमा ‘वानीरा फाउन्डेसन’को स्थापना गरे । शङ्कर गिरिको आफ्नी पत्नीउपरको यस कार्यलाई शाहजहाँले आफ्नी प्रेमिका मुमताजका लागि बनाएको ताजमहलसँग पनि तुलना गरे हुन्छ । त्यसैले वानीरा फाउन्डेसनलाई नेपाली परिवेशमा शङ्कर गिरिनिर्मित साहित्यको ताजमहल हो भने पनि हुन्छ ।

वानीरा फाउन्डेसन निजी क्षेत्रमा नेपाली भाषासाहित्यको हालसम्मकै उच्च धन राशिबाट निर्माण गरिएको विशेष प्राज्ञिक संस्था हो । वर्तमान मूल्यमा पाँच करोड राशिको नगद र जिन्सीमा यो संस्था आबद्ध छ । यस संस्थालाई नेपाल सरकारको लगतमा समेत दर्ता गरिएको छ । दर्ता गर्ने क्रममा यस विधानको प्रस्तावनामा लेखिएको छ—

‘इन्जिनियर शङ्कर गिरिको हार्दिक सङ्कल्पअनुसार नेपाली भाषासाहित्यका विश्वनारी रत्न डा.वानीरा गिरिको व्यक्तित्व र कृतित्वको अध्ययन, विश्लेषण र अनुसन्धान गर्नुको साथै देश देशान्तरका स्रष्टाहरूको समेत अध्ययन, विश्लेषण, अनुसन्धानका अतिरिक्त सम्मान, पुरस्कार र सहयोग गर्ने हेतुले ‘वानीरा फाउन्डेसन’ स्थापना भएको छ ।’

वानीरा फाउन्डेसन शङ्कर गिरिको मनको चोखो प्रेमबाट सिर्जना भएको एउटा साहित्यिक मन्दिर हो । यस संस्थाको अविच्छिन्न सञ्चालनका लागि शङ्कर गिरिद्वारा आफ्नो र आफ्नी पत्नीका नाउँमा भएको जग्गा नै अर्पण गरिएको छ । यसै प्रसङ्गमा वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीले भने— ‘डा.वानीरा गिरिका लागि शङ्कर गिरिले जति गरे, धेरै गरे । यसरी आफ्नी पत्नीका लागि कुनै नेपालीले यत्तिको विराट् काम गरेको मैले सुनेको थिएन । शङ्कर गिरिको भावना कति ठूलो रहेछ भन्ने कुरा वानीरा फाउन्डेसनको स्थापना, वानीराको पूर्ण कदको सालिक र भव्य भवनले पूरै प्रमाणित गरिसकेको छ ।’

शङ्कर गिरिको संरक्षकत्व र अध्यक्षतामा वानीरा फाउन्डेसनको स्थापना भएको थियो । फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको निर्माण भएपछि गिरिले आफु संस्थाको संरक्षकमा मात्र बस्न मन्जुर गरे । त्यसपछि फाउन्डेसनका उपाध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा संस्थाको कार्यसमिति बन्यो ।

नेपालमा थुप्रै साहित्यिक पुरस्कार गुठी र साहित्यिक संस्थाहरूको स्थापना भइसकेका छन् । स्रष्टाकै नाउँमा उनीहरूकै परिवारद्वारा स्थापित संस्थाहरू आðलामा गन्न सकिने अवस्थामा रहेको बेला वानीरा फाउन्डेसनको पनि स्थापना भएको छ । वानीरा गिरि स्वयम् नेपाली भाषासाहित्यका महारथीको नाउँ हो । वानीरा गिरि भन्नु नेपाली साहित्यका नारीचुलीको पनि नाउँ हो । अनि वानीरा गिरि भन्नु नेपाली साहित्यका विश्वनारी रत्नको नाउँ हो । त्यस्ती जाज्वल्यमान साहित्यकी शिखर व्यक्तित्वका नाउँमा स्थापना भएको ‘वानीरा फाउन्डेसन’लाई एउटा गौरवशाली संस्थाका रूपमा ग्रहण गरिन्छ ।

वानीरा फाउन्डेसन नेपाली साहित्यको अर्को एउटा शिखर संस्थाको नाउँ हो । जुन नाउँ नै उसको कामको प्रतिनिधिका रूपमा अघि सरेको छ । साथै यो गैरराजनैतिक संस्था हो, यसमा केवल साहित्यसम्बन्धी मात्र कार्य हुन्छ र यो गैरनाफामूलक संस्था हो । वानीरा फाउन्डेसनका उद्देश्य यस प्रकार रहेका छन्—

(क) यो संस्था मुनाफारहित जनहितकारी, सामाजिक संस्था हुनेछ;
(ख) यस संस्थाले साहित्य, कला तथा संस्कृतिसम्बन्धी कार्य गर्नेछ;
(ग) यस संस्थाले वाङ्मयबारे सङ्ग्रहालय तथा पुस्तकालय स्थापना गर्नेछ;
(घ) यस संस्थाले डा.वानीरा गिरिविषयक पुस्तकालय र सङ्ग्रहालय बनाउनेछ;
(ङ) यस संस्थाले डा.वानीरा गिरिका प्रकाशित साहित्यिक कृतिहरूको पुनः प्रकाशन वा अप्रकाशित कृतिहरूको प्रकाशन गर्ने गराउनेछ;
(च) यस संस्थाले विविध विषयका कृतिहरूको प्रकाशन गर्ने गराउनेछ;
(छ) यस संस्थाले जेहेनदार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने दिलाउनेछ;
(ज) यस संस्थाले वाङ्मयसेवीलाई विद्वतवृत्ति दिने दिलाउनेछ;
(झ) यस संस्थाले नेपाली भाषा, साहित्य, संस्कृति एवम् कलासम्बन्धी गोष्ठी, सेमिनार आदि समारोहको आयोजना गर्ने गराउनेछ;
(ञ) यस संस्थाले देश देशान्तरका प्रतिभाहरूलाई सम्मान वा पुरस्कार प्रदान गर्ने गराउनेछ;
(ट) यस संस्थाले साहित्य, संस्कृति एवम् कलासम्बन्धी अध्ययन, शोध तथा अनुसन्धान गर्ने गराउनेछ;
(ठ) यस संस्थाले साहित्य, कला र संस्कृतिबारे विविध कार्यहरू गर्ने गराउनेछ ।

अतः नेपाली साहित्यको श्रीवृद्धिका लागि स्थापित वानीरा फाउन्डेसन एक जना नारीस्रष्टा वानीरा गिरिको व्यक्तित्व र कृतित्वमा आबद्ध भएर पनि ‘वसुधैव कुटुम्बकम्’को सिद्धान्तमा पनि आधारित रहेको छ ।

डा. वानीरा गिरि नेपाली धराकी विशिष्ट सर्जक हुन् भन्ने कुरा उनका कृतिहरूले उजागार गरिसकेको नै विषय हो । ‘वानीरा फाउन्डेसन’बाट उनको व्यक्तित्व र कृतित्वको सुवास थप मगमगाउनेछ । साथै नेपाली जगत्मा पतिले आफ्ना पत्नीका लागि बिरलै स्थापना गरिने यस प्रकारका गुठीहरूमा ‘वानीरा फाउन्डेसन’ले आपूmलाई शीर्षस्थ आसनमा पु¥याएको छ । प्रेम र दाम्पत्यको खडेरी पर्दै गएको वर्तमान कालखण्डका लागि ‘वानीरा फाउन्डेसन’ प्रेरक, उदाहरणीय र स्तुत्य पनि बनेको छ । त्यसै गरी आफ्नी पत्नीका नाउँमा ‘वानीरा फाउन्डेसन’को स्थापना गरेर इन्जिनियर शङ्कर गिरि नेपाली भाषासाहित्यका लागि थप आदरणीय, सम्माननीय र श्रद्धेय व्यक्तित्वका रूपमा समेत सुपरिचित भएका छन् ।

वानीरा गिरीको जीवनी

वानीरा विशेष

वानीरा अभिलेख

नइ टेलिफोन कोश