» वानीरा फाउन्डेसन निजी क्षेत्रमा नेपाली भाषासाहित्यको हालसम्मकै उच्च धन राशिबाट निर्माण गरिएको विशेष प्राज्ञिक संस्था हो ।

Home » वानीरा पुरस्कारबाट पुरस्कृतहरूको भाषण » श्री वैरागी काइँलाको सम्बोधन

श्री वैरागी काइँलाको सम्बोधन

२०७९ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’बाट पुरस्कृत

श्री वैरागी काइँलाको सम्बोधन

सर्वप्रथम पुरस्कार र सम्मान स्थापना गर्ने संस्था वानीरा फाउन्डेसन र यससँग सम्बन्धित सबैमा कृतज्ञतासहितको आभार व्यक्त गर्दछु ।

नेपाली साहित्यका क्षेत्रमा योगदान पु¥याएको मानेर यहाँहरूले वानीरा पुरस्कारका लागि योग्य ठानी सम्मानित समारोहमा पुरस्कार प्रदान गरेर सम्मान प्रदान गर्नुभएकामा कृतज्ञता ज्ञापनसहित धन्यवाद भन्दछु ।

वानीरा फाउन्डेसन र वानीरा गिरि

नेपाली भाषासाहित्यको क्षेत्रमा अविस्मरणीय नाम नेपाली साहित्यका विश्वनारी रत्न डा.वानीरा गिरिको असामयिक निधन भएपछि श्रीमान् ई. शङ्कर गिरिले ‘वानीरा गिरिका व्यक्तित्व र कृतित्वको अध्ययन, विश्लेषण र अनुसन्धानका लागि वानीरा फाउन्डेसन (२०७६) स्थापित’ गरिदिनुभयो (नरेन्द्रराज प्रसाई, नेपाली साहित्यका विश्वनारी रत्न वानीरा गिरि, तेस्रो संस्करण, २०७९ः७) । दिवङ्गत पत्नीप्रतिको यस प्रकारको आदर्श प्रेम आजभोलिका दिनमा बिरलै देख्न पाइने कुरा हो । यसै गरी वानीरा फाउन्डेसनको भवनमा आज वानीरा फाउन्डेसनको गरिमामय कार्यक्रम भइरहेको छ र यो ई. शङ्कर गिरिले निर्माण गरेको ‘वाणी महल’ हो ।

वानीरा गिरिको व्यक्तित्व र कृतित्वको अध्ययन, विश्लेषण र अनुसन्धानका लागि स्थापित वानीरा फाउन्डेसन (२०७६)ले समयसँगसँगै आफ्नो उद्देश्य र लक्ष्य फाँटिलो बनाउँदै लगेका बारेमा यस संस्थाको अध्यक्ष इन्दिरा प्रसाईबाटै लेखिएको छ— ‘साहित्य, कला र संस्कृतिसम्बन्धी कार्य गर्ने; वाङ्मयबारे कृतिहरूको प्रकाशन गर्ने, वाङ्मयसेवीहरूलाई विद्वत्वृत्ति प्रदान गर्ने, साहित्यिक सभा, सम्मेलन र गोष्ठीहरूको आयोजना गर्ने आदिका अतिरिक्त देशदेशान्तरका स्रष्टाहरूको समेत अनुसन्धान र वाङ्मयका सेवीहरूलाई सम्मान गर्ने वानीरा फाउन्डेसनको थप उद्देश्य रहेको छ’ (नेपाली साहित्यका विश्वनारी रत्न वानीरा गिरि, प्रकाशकीय, २०७०ः७—८) ।

स्रष्टा वानीरा गिरि

बाल्यकालदेखि नै साहित्यमा कलम चलाउने वानीरा गिरि निर्भीक र निडर अनि स्पष्ट वक्ता र विद्रोही स्वभावकी हुनुहुन्थ्यो । विविध विधामा कलम चलाउन दक्ष, प्रकृति, जीवन र जगत्का प्रसङ्गलाई विषय बनाउने स्रष्टा वानीरा गिरि, उनका जीवनीकार नरेन्द्रराज प्रसाईका (नेपाली साहित्यका विश्वनारी रत्न वानीरा गिरि, २०७९ ः ६८) शब्दमा तर ‘वानीरा गिरि कवितामा नै फुलिन्, कवितामा नै फक्रिइन् र कवितामा नै सुगन्धित जाई, जुही र चमेली बनिन् ।’

हो; यिनै कविता, कथा, उपन्यास र निबन्ध आदि साहित्यका विधामा सफलतापूर्वक कलम चलाउने नेपाली भाषा, नेपाली साहित्यका विश्वनारी रत्न साहित्यकार वानीराका नाममा स्थापित पुरस्कार पाउनु त मेरा लागि अझ हार्दिक प्रसन्नताकै कुरा हो ।

नइका बारेमा केही शब्द

सुखद संयोगकै कुरा हो; नेपाली साहित्यको उत्थान, विकास र व्यापकतालाई मूल कर्मक्षेत्र बनाएर तीन दशकभन्दा बढी समयदेखि क्रियाशील नइका संस्थापकद्वय साहित्यिक जोडी इन्दिरा प्रसाई र नरेन्द्रराज प्रसाईका दक्ष व्यवस्थापकीय व्यवस्थापनमा वानीरा फाउन्डेसनको स्थापना र सञ्चालनको दायित्व वानीरा फाउन्डेसनका संरक्षक शङ्कर गिरिले व्यवस्था गर्नुभएको छ । नइको प्रबन्धन, व्यवस्थापन, नेपाली साहित्यको उत्थान र व्यापकीकरणमा योगदान त ऐनाझð छर्लङ्ग भएको तथ्य खुलाइरहनुपर्ने आवश्यक्ता नै छैन । आशा मात्र होइन, हामीलाई विश्वास पनि छ कि नइ दुईको नेतृत्वमा ‘वानीरा गिरिको व्यक्तित्व र कृतित्वको अध्ययन, विश्लेषण र अनुसन्धानका कार्यक्रम’ प्रभावशाली रूपमा अघि बढ्नेछ । त्यसरी नै यसका अन्य उद्देश्य जस्तै— ‘साहित्य, कला र संस्कृतिसम्बन्धी कार्य गर्ने; वाङ्मयबारे कृतिहरूको प्रकाशन गर्ने; वाङ्मयसेवीहरूलाई विद्वत्वृत्ति प्रदान गर्ने; साहित्यिक सभा, सम्मेलन र गोष्ठीहरूको आयोजना गर्ने आदिका अतिरिक्त देशदेशान्तरका स्रष्टाहरूको समेत अनुसन्धान र वाङ्मयका सेवीहरूलाई सम्मान गर्ने वानीरा फाउन्डेसनको थप उद्देश्यहरू’ सफल हुनेछन् ।

आफ्नाबारे

नेपाली साहित्यका क्षेत्रमा कुनै उल्लेख्य योगदान मैले पु¥याउन सकेको छु जस्तो मलाई कहिल्यै लागेको छैन । तर त्यसो गर्न सकेको भन्ने कुरा मेरा पाठकपाठिका, समीक्षक र समालोचकका आफ्ना निजी धारणा हुन्; त्यसमा मेरो भन्नु केही पनि छैन ।

साहित्यिक सृजना क्षेत्रमा मेरो मूल क्षेत्र कविताको क्षेत्र हो । देखासिखीमा लेख्न थालेको भए तापनि अरूभन्दा भिन्न भएर लेख्ने धुन सुरुदेखिकै थियो मलाई । यसो भन्दा आफ्नो चिनारी पृथक् देखियोस् भन्ने नै हो ।

पहिलेपहिले सरल भाषामा र सरल पारामा भावुकतापूर्ण कवितालेखन गर्दै बढेको मेरो सृजनाको यात्राको अन्यभन्दा भिन्न देखिने लहडले जटिल पनि भयो । यसो हुनाको कारण त साहित्य सृजना भाषाको सेवा मात्र नभएर अभिव्यक्तिको माध्यम र कला पनि हुनाले त्यसो भएको होला ।

त्यसमा पनि थप कुरा के छ भने कविता लेख्दा विचार त हुन्छ नै कवितामा, तर विचारविशेषको संवाहक कविताले बन्नु हुँदैन भन्ने सुरुदेखिकै धारणा मेरो मनमा थियो । विचारहरूले मिलेर सँगसँगै खेल्ने फुलबारी हुनुपर्ने हो कविता । म विचारहरूको प्रजातन्त्र मन पराउँछु ।

तर पनि कविता किन र केका लागि लेखिन्छ ? भन्ने प्रश्नमा सदा निरुत्तर छु । समसामयिक जीवन, समाज र समयका बारेमा कि ? कविताले जीवन र जगत्का बारेमा बोल्नुपर्दछ ? मसँग ठीक उत्तर छैन । तर कविताले जीवन र जगत्का बारेमा बोल्नुपर्दछ भन्ने पनि मलाई लाग्दछ । तर जीवन र जगत् के हुन् ? कसरी जान्नु यो ठीक र त्यो बेठीक ? कुन कुरो सबैका लागि ठीक ? अलमल र दोधारमा एउटा कविको जीवन मैले बिताइरहेको छु ।

यसै सङ्कटमा परेको मैले अन्धा मान्छे (छ जना)हरूले हात्ती छामेर हात्तीलाई जान्न खोजेको विषयमाथि कविता लेख्न बल गरे । छ नै जना (अन्धा मान्छे)ले हात्ती छामेर आआफ्ना हात्ती भेटे, तर एउटै उही हात्ती भेटेनन् । तर सबै खुसी थिए हात्ती भेटेर । आज आफ्नै हात्ती भेटेर म अलमलमा छु; किनभने अरूले भेटेको सँग मिल्दैन मेरो हात्ती । तर मूल हात्ती, जसलाई छाम्याð हामीले… अलग्ग उभिएको छ ।

आज म कविका रूपमा अन्धाले छामेर भेटेका आफ्नो हात्ती लिएर अलमलमा उभिएर बसेको छु । जीवन के हो ? जगत् के हो ? हामी सबैको आआफ्ना, दृष्टि र धारणा लिएर बाँचेका छाð । भ्रम होस् कि सत्य, तर यही रमाइलो छ कविताजस्तै ।

यसो त, नेपाली साहित्यमा कलम चलाउन थालेको र प्रकाशित हुन थालेको पनि झन्डै ६६—६७ वर्ष भइसकेछ । कति लेखेँ ? गरेँ के ? दिएँ के ? यसबारेमा यसअघि पनि कतै भनेको लेखेको छु कि…; कविताको क्षेत्रमा आपूmले गरेको काम गन्ती गर्न खोज्छु, जस्तै— एक, दुई तीन अनि ? त्यहाँबाट उता मेरो गन्ती धेरै भएर जाँदै जाँदैन ।सृजनात्मक साहित्य (कविता)बाहेकका क्षेत्रमा पनि सेवा गर्ने क्षेत्र त भाषाकै क्षेत्रमा नै हो । हामीलाई थाहा छ नै नेपाल बहुभाषिक देश हो । धेरै भाषाहरू बोलिन्छन्, लेखिन्छन् । मुलुकभित्र बोलिने सबै भाषाको उत्थानका दिशामा मैले लागे पनि मेरो अभिव्यक्तिको माध्यम भने आफ्नै मातृभाषा लिम्बू भाषा नभएर मुलुकको सम्पर्कको भाषा नेपाली भाषा नै भयो र हो । मुलुकमा बोलिने सबै भाषाको उत्थानमा लाग्नु र सृजनात्मक कार्यमा लाग्नु मेरा लागि विशेष काम हुन् । लोेकसाहित्यका क्षेत्रमा लिम्बूजातिको मुन्धुमको अध्ययन, सङ्कलन, नेपालीमा अनुवाद र प्रकाशनका क्षेत्रमा मैले केही काम गरेको छु । तर, मलाई लाग्दैन कि यति काम गरेर नै मैले सम्मानित हुन योग्य हुने काम गर्न सकेको छु । तर पनि वानीरा फाउन्डेसनले ममथि प्रेम र स्नेह राखेर पुरस्कारको योग्य ठहराई आज सम्मानित ग¥यो । मेरा लागि यो दिन गौरवबोध गर्ने दिन भएको छ । यसका लागि वानीरा फाउन्डेसनका संरक्षक शङ्कर गिरि, अध्यक्ष इन्दिरा प्रसाई, सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा सदस्यहरू सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

वानीरा गिरीको जीवनी

वानीरा विशेष

वानीरा अभिलेख

नइ टेलिफोन कोश